रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु, विवाहको खुशीयाली शोकमा परिणत

Jasus Khabar 3925+ समाचार ( )
१ जेठ २०८२

मोरङको रतुवामाई नगरपालिकामा विवाहको उत्सव एकाएक शोकमा परिणत भएको छ।

वडा नम्बर ३ मा मंगलबार साँझ टिकाटालो कार्यक्रम र त्यसपछिको नाँचगानका क्रममा करेन्ट लागेर दुई महिलाको मृत्यु भएपछि विवाह घरमा अप्रत्याशित शोक परेको हो।

विवाहको तयारी चलिरहेको घर नजिकै गान्धीप्रसाद सिंहको घरमा रमाइलोका लागि स्थानीय महिलाहरू भेला भएका थिए। सोही क्रममा आएको हावाहुरीले माइक बाधिएको बाँसमा विद्युतको नाङ्गो तारमा ठोक्किँदा करेन्ट लिक भएको थियो। हावाहुरी र पानीबाट जोगित ओत लाग्ने क्रममा महिलाहरूलाई करेन्ट लागेको वडासदस्य गिर्जाप्रसाद ताजपुरियाले जानकारी दिए।

उक्त घटनामा ७३ वर्षीया सूर्यदेवी गन्गाई र ७० वर्षीया रामुदेवी गन्गाईको मृत्यु भएको हो। उनीहरू बेहुली प्रियंका सिंहको नातेदार थिए। घटनामा ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार करेन्ट लागेर बेहोस भएका तीनैजनालाई रंगेली अस्पताल लगिएकोमा सूर्यदेवी र रामुदेवीको उपचारको क्रममा निधन भएको हो।

विवाहका लागि बेहुला निरजकुमार सिंह र बेहुली प्रियंका सिंहबीच बुधबार विवाहको कार्यक्रम तय गरिएको थियो। तर, मङ्गलबारको घटनाले सिंगो गाउँ नै स्तब्ध बनेको छ।

प्रतिक्रिया