सुनसरी–४: मा चुनावी प्रतिस्पर्धा चर्किँदै

Jasus Khabar 3958+ समाचार ( )
२७ मंगशिर २०८२

अजमल अन्सारी

सुनसरी। आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै सुनसरी क्षेत्र नं–४ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी तथा ८ दलीय गठबन्धनतर्फबाट स्थानीय नेता महफुज अन्सारीको नाम बलियो रूपमा अगाडि आएको चर्चा स्थानीय राजनीतिक वृत्तमा छ।


यसअघि निर्वाचित नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्की र महफुज अन्सारीबीच कडा प्रतिस्पर्धा हुने आकलनले क्षेत्रभरि चर्चाको विषय बनेको छ। दीर्घ राजनीतिक अनुभव बोकेका, मधेसमा लोकप्रिय र माधव नेपालको ‘प्रिय पात्र’ मानिएका नेता महफुज अन्सारी यहाँको समुदायमा इमानदार र सहयोगी व्यक्तित्वका रूपमा परिचित छन्।


महफुज अन्सारी २०५४ सालतिर तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासँगको प्रतिस्पर्धामा झिनो मतले पराजित भएका थिए। २०६५ सालतिर मधेस विद्रोहको संवेदनशील समयमै उपेन्द्र यादव र सुजाता कोइरालाविरुद्ध प्रतिस्पर्धा गर्दै उनी निकटतम प्रतिद्वन्द्वी बनेका थिए। लामो समयको राजनीतिक संलग्नता र संगठनात्मक क्षमता उनका प्रमुख बलका रूपमा हेरिएको छ।


स्थानीयवासीको भनाइअनुसार, यसपटक क्षेत्र नं–४ मा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका अन्य सम्भावित उम्मेदवारभन्दा महफुज अन्सारी नै मजबुत र प्रभावशाली उम्मेदवारका रूपमा उदाएका छन्।


कार्कीले २०७९ को निर्वाचनमा नेकपा एमालेका जगदीश प्रसाद कुसियैतलाई झिनो मतले पराजित गरेका थिए। अघिल्लो चुनावमै ‘हम्मे–हम्मे’ पारी जितेका कार्कीप्रति जनमत कमजोर बन्दै गएको स्थानीयको दाबी छ।


कांग्रेसले स्थानीय उम्मेदवार चयनमा बेवास्ता गरेको आरोप लगाउँदै मतदाताहरूले यसपटक ‘टुरिस्ट’ छवि बनिरहेका कार्कीलाई भोट नहाल्ने मनसाय व्यक्त गरिरहेका छन्।


स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, एमाले र प्रचण्ड नेतृत्वको कम्युनिस्ट पार्टी दुवैतर्फका उम्मेदवारले कांग्रेसलाई कडा चुनौती दिने परिस्थितिले क्षेत्र नं–४ को प्रतिस्पर्धा थप रोचक बनेको छ।

प्रतिक्रिया