भूकम्पको १० वर्षः लाप्राकको नमूना वस्तीमा ६०४ घर, बस्छन् जम्मा ६० परिवार

Jasus Khabar 3958+ समाचार ( )
१२ वैशाख २०८२

२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालयबीच २०७३ बैशाख १२ को त्रिपक्षीय सम्झौताअनुसार गोरखाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ ।

धार्चे गाउँपालिका वडा नं. ४ गुप्सीपाखामा करिब ३२६ रोपनी क्षेत्रफलमा सो लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको हो । कुल ६०४ घरधुरी रहेको सो नमुना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भुकम्प राहतबाट बनेको हो ।

बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्याअनुसार घर निकै सानो रहेकाले लाप्राकीहरूको प्राथपमिकतामा पर्दैनन् नमुना बस्तीका घरहरू । ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन् ।

प्लाष्टिकको झ्याल ढोका, चार जना परिवारको लागि पनि सानो हुने घर, पूर्ण रूपमा निर्माण सम्पन्न नगरिएको प्रस्ट देखिन्छ । अहिले बस्तीमा बसी रहेका परिवारले पनि सो घर बस्न लायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नुपरेको ४ नं. वडाका अध्यक्ष किसान गुरुङ्गले बताए ।

काठको झ्यालढोका राख्नेदेखि ढुंगा छाप्न, घरको भित्री संरचना निर्माण गर्न खर्च गर्नुपरेको उनले सुनाए । लाप्राक गाँउ पहिलेदेखि पहिरोको जोखिममा रहेको भए पनि स्थानीयहरूको खेतीबाली गाँउमै हुनाले पनि नमुना बस्तीमा खासै बस्ने नगरेको गुरुङ्गले बताए ।


प्रतिक्रिया