सुनसरी प्रहरीको ठुलो सफलता: ३२३ केजी गाँजा सहित १ जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
९ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही मा मंगलवार बिहान ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उल्लेखनीय सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा गरिएको अप्रेशन अन्तर्गत ३ सय २३.२१ किलोग्राम गाँजा नियन्त्रणमा लिन सफल भएको हो।


जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो सफलता हासिल गर्दा लामो समयदेखि सक्रिय सशस्त्र प्रहरी बलले पनि गर्न नसकेको कारवाही भएको स्थानीयहरु बताउँछन् । गाँजा सशस्त्र समूह तथा तस्करहरूले भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको अवस्थामा सुनसरी प्रहरीले बरामद गरेको श्रोतको दाबी छ ।


प्रहरीले बरामद गरिएको गाँजा र पिकप सँगै व्यक्तिको थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। सुनसरी प्रहरीको यस कारवाहीले सीमा क्षेत्रबाट हुँदै हुने लागुऔषध कारोबारमा कडाइ आएको संकेत दिएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले भने, "हामी लागुऔषध कारोबार तथा अपराधमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौँ।" उनले थपे,' नागरिकको सेवामा समर्पित भइ सुनसरीलाई सुरक्षित, अनुशासित र अपराधमुक्त बनाउने हाम्रो निरन्तर प्रयास जारी छ।”


जिल्ला प्रहरी कार्यालय सुनसरीले देखाएको सक्रियता र सफलता जिल्लावासीले पनि सराहना गरेका छन्। सीमावर्ती गतिविधिको निगरानीदेखि अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नमा एसपी तिम्सिनाले पुर्‍याएको योगदान सर्वत्र सराहनीय मानिएको छ।


लागू औषध ब्राउन सुगर, गाँजा र सवारीसहित १ जना नियन्त्रणमा


सुनसरीको कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट लागू औषध ब्राउन सुगरसहित १ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउंपालिका- ५ को वर्ष २६ को तेजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।


भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको कार्कीको साथबाट २ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।


नियन्त्रणमा लिएका कार्कीलाई सोधपुछ गर्ने क्रममा निजले चलाई ल्याएको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको YODDA PICK UP गाडी जिल्ला सुनसरी कोशी गाउँपालिका- १ लौकही बजार स्थितमा पार्किङ गरी राखेको बताएका थिए ।


सुनसरी प्रहरीले उक्त गाडीलाई समेत खानतलासी गर्दा गाडी भित्र ११ वटा बोरामा प्याक गरिएको अवस्थामा ३२३.२१ किलोग्राम गाँजा फेला पारेका थिए । कार्की र गाडीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाइएको छ । 

प्रतिक्रिया