अजमल अन्सारी>
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित जनता चोकदेखि नरसिंहतर्फ जाने भित्री सडक खण्डमा लागू औषध गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा गाँजासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन्।>
जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको टोलीले बैशाख ११ गते राति ८:४५ बजे चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३७ प ८६३१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। प्रहरीले रोकेपछि मोटरसाइकल चालक फरार भएको र मोटरसाइकलमै रहेको एउटा बोरा र जेब्रा झोलाभित्र गाँजा जस्तो देखिने ४०.४८ किलोग्राम लागू औषध बरामद भएको जनाएको छ।>
>
उक्त घटनासँग सम्बन्धित थप अनुसन्धानका क्रममा यादव टोल हुँदै आउँदै गरेको प्र.१–०२–०४३ प ३०६३ नम्बरको अर्को मोटरसाइकल रोकी चेकजाँच गर्दा सोही प्रकारको बोरा र झोलामा प्याक गरिएको ६२.२७ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।>
>
धनकुटाको सांगुरीगढी गाउँपालिका–९ निवासी २२ वर्षीय सलिन राईलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार रहेका को ३७ प ८६३१ नम्बरको मोटरसाइकल चालकको खोजी कार्य पनि तीव्र रुपमा अघि बढाइएको छ।>
>
घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी सुमन कुमार तिम्सिनाले भने, “लागू औषध नियन्त्रण हाम्रो प्राथमिकता हो। यसरी ठूलो परिमाणमा गाँजा ओसारपसार गर्ने गिरोहलाई नियन्त्रणमा लिन सुराकी र नियमित चेकजाँचलाई थप कडा बनाइनेछ। फरार अभियुक्तको पहिचान भइसकेको छ, छिट्टै पक्राउ गर्ने कार्यमा प्रहरी जुटिरहेको छ।”>
>
प्रहरीले लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।>
>