बसन्तपुर: नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

Jasus Khabar 3958+ समाचार ( )
१३ जेठ २०८२

सुनसरी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा सुदृढीकरण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त सुरक्षा गस्ती गरिएको छ।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुर र भारतको सशस्त्र सीमा बल (एसएसबी) डुमरवानाको संयुक्त टोलीले  भारततर्फको पुर्वी टोल, बसमतिया र नेपालतर्फको सिसुवा, बसन्तपुर आसपासको क्षेत्रमा गस्ती गरेको हो।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरका प्रमुख प्रहरी निरीक्षक ईन्द्र जङ्ग थापाले सीमा क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नुका साथै तस्करी र आपराधिक गतिविधि रोकथामका लागि यस्तो संयुक्त गस्ती प्रभावकारी हुने बताउनुभयो। ‘सीमा क्षेत्रमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन नियमित रूपमा संयुक्त गस्ती जारी राखिनेछ,’ निरीक्षक थापाले भन्नुभयो।


वहाँले नेपाल–भारत दुवै पक्षको समन्वयमा हुने यस्ता गस्तीले सीमामा सुरक्षालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। ‘सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सहकार्य बलियो बनाइँदैछ र यसले परिणाममुखी काम गर्ने विश्वास लिईएका छाैँ,’ निरीक्षक थापाले भन्नुभयो।


सुरक्षा निकायका अनुसार सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप, तस्करी, अवैध ओसारपसारलगायतका गतिविधि रोक्न यस्ता संयुक्त गस्तीलाई नियमितता दिइने जनाएको छ ।


प्रतिक्रिया