कोशी प्रदेश: मन्त्री सदानन्द मण्डल विवादका भुमरीमा, मन्त्री पुत्र पनि कम छैनन्

Jasus Khabar 3958+ समाचार ( )
७ श्रावण २०८२

सुनसरी । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल पछिल्ला दिनमा विवादका घेरामा परेका छन् । 'क्युआर घुस प्रकरण', खेताला स्वकीय सचिव नियुक्ति तथा सरकारी सवारी साधनको दुरुपयोगलगायतका घटनाले मन्त्री मण्डलमाथि चर्को आलोचना भइरहेको छ ।


विवादित क्रियाकलाप र जिम्मेवार भूमिकामा असफलताले मन्त्री मण्डलप्रति सर्वसाधारण, प्रतिपक्षी दलका नेता, नागरिक समाज तथा आफ्नै दलका सांसदहरुसमेत असन्तुष्ट देखिएका छन् । उनीहरुमध्ये कतिपयले सार्वजनिक रूपमा नैतिकताको आधारमा राजीनामा दिन माग गरिसकेका छन् । तर, मन्त्री मण्डलले अहिलेसम्म कुनै जिम्मेवारी लिएका छैनन् ।


एकपछि अर्को प्रकरणमा मण्डलको संलग्नता देखिँदा कोशी सरकारको नैतिक धरातल कमजोर भएको आरोप लागेको छ । मन्त्री मण्डलको विवादास्पद भूमिकाले मुख्यमन्त्री स्वयंलाई समेत संकटमा पारेको राजनीतिक विश्लेषकहरू बताउँछन् । प्रदेश सरकारप्रति जनविश्वास घट्दै जाँदा सत्तारुढ दलभित्रै खिन्नता बढ्न थालेको जनाइएको छ ।


निर्वाचन क्षेत्रका मतदाताहरू पनि मन्त्रीको व्यवहारप्रति असन्तुष्ट छन् । ‘चुनावमा दिएका वाचा पुरा नगरेको, जनताको सेवाभन्दा व्यक्तिगत लाभमा केन्द्रित देखिएको’ भन्दै स्थानियस्तरबाट असन्तोषको स्वर चुलिएको छ ।


विवाद, आलोचना र जनदबाबबीच मन्त्री मण्डल अझै पदमा अडिग छन् । तर, पछिल्लो अवस्था हेर्दा उनको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ । कोशी सरकारको कमजोरीको प्रतिक बनेका मन्त्री मण्डलले राजीनामा नदिए आगामी दिनमा थप राजनीतिक उथलपुथल निम्त्याउने संकेत देखिएको छ ।


क्युआरकाण्डी मन्त्री पुत्रको विवादास्पद अडियो सार्वजनिक, धार्मिक द्वन्द्व भड्काउने अभिव्यक्तिप्रति अनुसन्धान सुरु

कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलका छोरा निलेश मण्डलको एक अडियो क्लिप सार्वजनिक भएको छ । जसमा उनले हिन्दु–मुस्लिम समुदायबीच धार्मिक द्वन्द्व गराउने अभिव्यक्ति दिएका छन् । अडियोमा उनले अभद्र भाषा प्रयोग गर्दै आफ्नो पितालाई "कसैले केही गर्न नसक्ने" दाबी गरेका छन् ।

सार्वजनिक अडियोमा निलेश मण्डलले नक्कली नोट कारोबारमा संलग्न व्यक्तिलाई मन्त्री मण्डलले संरक्षण दिएको पनि बताएका छन् । केही समयअघि पक्राउ परेका नक्कली नोट कारोबारीलाई प्रहरीबाट आफ्नो बुवाले जोगाएको समेत उनले अडियोमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा नाम नखुलाउने सर्तमा एक प्रयोगकर्ताले बताएअनुसार, निलेश मण्डललाई जब ती व्यक्तिले समाचार लिंक पठाए, उनले त्यसको जवाफमा अश्लील गालीगलौज गर्दै "कसैले केही गर्न सक्दैन" भन्ने सन्देश पठाएका थिए ।

मन्त्री मण्डल पहिले नै क्युआर कोडमार्फत अनुचित लेनदेन गरेको र खेताला स्वकीय सचिव नियुक्त गरेको आरोपमा विवादमा तानिइरहेका छन् । यो पछिल्लो घटनाले थप आलोचना निम्त्याएको छ ।

सार्वजनिक अडियो क्लिपको प्रमाणिकता र यसमा उठाइएको दाबीको सत्यतथ्य पत्ता लगाउन अहिले अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ । यता, मन्त्री मण्डल भने यसबारे कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।



प्रतिक्रिया