अजमल अन्सारी>
सुनसरी । नेपाली कांग्रेस सुनसरी जिल्ला सभापतिका लागि आगामी १५औं महाधिवेशनको तयारीसँगै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। यसक्रममा ऐयुव अन्सारीको उम्मेदवारी प्रमुख र बलियो विकल्पका रूपमा अघि आएको छ।>
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीलाई संगठन विस्तार, कार्यकर्ता परिचालन र चुनावी रणनीतिमा अनुभवी नेताका रूपमा लिइएको छ। पार्टीको आधार तहदेखि माथिल्लो संरचनासम्म काम गरेको अनुभव भएकाले उनलाई जिल्ला सभापतिका लागि उपयुक्त पात्र मान्ने धारणा स्थानीय नेता तथा कार्यकर्ताबीच बढ्दै गएको छ।>
>
अन्सारीले २०४६ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीति सुरु गरेका हुन्। २०५० सालमा सुनसरी क्षेत्र नं. ५ को नेपाल विद्यार्थी संघ सभापति बनेका उनी १२औं महाधिवेशनमा क्षेत्रीय सभापतिका लागि स्वर्गीय ताहीर अन्सारीसँग झिनो मतान्तरले पराजित भएका थिए। पराजयपछि पनि संगठनमा सक्रिय रहँदै १३औं महाधिवेशनमा भने उनी फराकिलो मतान्तरसहित क्षेत्रीय सभापतिमा निर्वाचित भए।>
>
संघीयता कार्यान्वयनपछि अन्सारी कोशी गाउँपालिकाको पहिलो अध्यक्ष बनेर स्थानीय तहमा पार्टीको संगठन मजबुत बनाउन भूमिका खेलेका थिए। १४औं महाधिवेशनमा उनले सुनसरी क्षेत्र नं. ४ को सभापतिमा जमील अन्सारीलाई ठूलो मतान्तरले पराजित गर्दै आफ्नो संगठनात्मक पकड पुष्टि गरेका थिए।>
>
पार्टीभित्र हालको अवस्थाबारे विश्लेषण गर्दै कार्यकर्ताहरूले हालका जिल्ला सभापति केदार भण्डारीको कार्यकालमा संगठन अपेक्षित रूपमा चलायमान हुन नसकेको टिप्पणी गरिरहेका छन्। पूर्व सभापति राजीव कोइरालाको समयदेखिको संगठनात्मक साख जोगाउन नसकिएको चर्चा पनि आन्तरिक रूपमा चलिरहेको छ।>
>
यही सन्दर्भमा ऐयुव अन्सारीको नेतृत्वमा जिल्ला कांग्रेसलाई पुनः एकताबद्ध गर्दै वडा, पालिका, प्रदेश र संसदीय तहसम्म संगठन सुदृढ गर्न सकिने विश्वास नेता तथा कार्यकर्ताहरूमा देखिएको छ। पार्टीको परम्परागत मताधार विस्तार, युवाहरूको आकर्षण र स्थानीय तहदेखि चुनावी प्रतिस्पर्धामा कांग्रेसलाई बलियो बनाउने रणनीतिका कारण पनि उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।>
>
आगामी १५औं महाधिवेशनमा ऐयुव अन्सारीको उम्मेदवारीले सुनसरी कांग्रेसमा नयाँ उत्साह, स्पष्ट दिशा र सक्रिय संगठन निर्माणको अपेक्षा गरिएको छ।>
>