प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने

Jasus Khabar 3925+ समाचार ( )
१९ जेठ २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो ।

प्रधानमन्त्री ओली जनकपुरधामस्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकैपटक मधेसको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक–एक सडक गरी ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् । कूल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डीपीआरसमेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।

मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ। प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् । प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनोट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार