सुनसरीमा गाँजा तस्करी तीव्र: प्रहरी दिनरात हैरान

Jasus Khabar 3925+ समाचार ( )
नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू दिनरात जिल्लाका सिमाना र सुरक्षा संवेदनशील क्षेत्रमा ड्युटीमा खटिइरहेका छन्।
१६ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । पछिल्लो समय सुनसरी जिल्लामा गाँजा तस्करीको गतिविधि तीव्र बन्दै गएको छ। जिल्लाको सीमा क्षेत्र हुँदै विभिन्न नाका तथा गोप्यबाट गाँजा तस्करी हुने क्रम रोकिएको छैन। विशेषगरी रातको समयमा तस्करहरू सक्रिय हुने गरेको बताइएको छ।


सशस्त्र प्रहरी बल ४ नम्बर गण मुख्यालय प्रमुख प्रहरी उपरीक्षक निर्मल कुमार थापाका अनुसार तस्करहरूले नयाँ नयाँ उपाय अपनाएर गाँजा ओसारपसार गरिरहेका छन्। एसपी थापाले भने,“दिनरात निगरानी तिव्र पारिएको छ, तर सीमावर्ती क्षेत्रको भौगोलिक जटिलताका कारण तस्करी नियन्त्रणमा चुनौती छ। यद्यपि हामीले निरन्तर नियन्त्रण गर्दै आएका छाैँ। हामीले यस जञ्जाललाई भत्काएरै छाड्ने छाैँ।"


सुनसरीको इटहरी, धरान, बराहक्षेत्र, दुहबी, इनरुवा, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, अमडुवा र घुस्की हुँदै भारततर्फ गाँजा पठाउने गिरोह सक्रिय रहेको र पछिल्लो एक महिनामा मात्रै प्रहरीले हजारौं किलो गाँजा बरामद गरेको छ। प्रहरीले तस्करीमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरेको भए पनि मुख्य कारोबारी भने फरार रहेका छन्।


स्थानीय बासिन्दाले पनि गाँजा तस्करी बढ्दो क्रममा रहेकाले असुरक्षा बढेको गुनासो गरेका छन्। स्थानीय भन्छन्,“रातदिन अपरिचित मान्छेहरू ओहोरदोहोर गरिरहन्छन्, हामी डराएर बस्नुपरेको छ।”


प्रहरी प्रशासनले तस्करी नियन्त्रणका लागि विशेष अपरेशन चलाएको जनाएको छ। स्थानीय निकाय र सर्वसाधारणलाई पनि जानकारी गराएर सतर्क रहन आग्रह गरिएको छ।


प्रहरी दिनरात हैरान


नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू दिनरात जिल्लाका सिमाना र सुरक्षा संवेदनशील क्षेत्रमा ड्युटीमा खटिइरहेका छन्। बढ्दो जिम्मेवारी, अप्ठ्यारो मौसम र लगातार ड्युटीले उनीहरू हैरान भएका छन्। सुरक्षा व्यवस्था कायम राख्न र अपराधीक गतिविधि नियन्त्रण र कारोबारीको जञ्जाललाई ताेड्न प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ। प्रहरीले दिनरात नभनी ड्युटी गरिरहेका छन् । 

प्रतिक्रिया