आफ्ना पूर्वसांसदलाई रास्वपाको निर्देशन : रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

Jasus Khabar 3925+ समाचार ( )
१३ अशोज २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी बनेका सांसद यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरेका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।’

उनले जेनजीको आन्दोलनको क्रममा ७५ जनाको ज्यान गएकाले‍ पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर चाडपर्वसँग सम्बन्धित कार्यक्रम आयोजना नगर्न निर्देशन दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ । तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया