सन् १९८६ देखि २०१७ सम्म ३१ वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भाले ४५ र पोथी ५५ गरी १ सय २ वटा दुर्लभ एकसिंगे गंैडा स्थानान्तरण गरिएको थियो। सबैभन्दा बढी ४३ वटा भाले र ४८ पोथी गरी ९१ वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको हो। सोही अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९ वटा गैंडा स्थानान्तरण गरिए। >
राष्ट्रिय निकुञ्ज तथा वन्यजतु संरक्षण विभागको तथ्यांकअनुसार सन् १९८६ मा पहिलोपटक बर्दिया राष्ट्रिय निकुञ्जमा फेब्रुअरी र डिसेम्बरमा ४ र ९ गरी १३ वटा ५ पोथी र ८ भाले गैंडा कर्णाली नदी तटीय क्षेत्रमा स्थानान्तरण गरिएको थियो। दोस्रोपटक सन् १९९१ मा जनवरी र फेब्रुअरीमा २० र ५ वटा गरी २५ वटा १७ पोथी र ८ भाले गैंडा बबई नदी तटीय क्षेत्रमा स्थानान्तरण गरिएको थियो। सन् १९९९ को जनवरीमा ४ वटा भाले गैंडा बबई नदी तटीय क्षेत्रमा स्थानान्तरण गरियो। सन् २००० को मार्च र नोभेम्बरमा १० र ६ गरी १६ वटा ८ भाले र ८ पाथी गैंडा बबई नदी तटीय क्षेत्रमा छाडिएका थिए। >
नोभेम्बरमै भाले १ र पोथी ३ गरी ४ वटा गैंडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका थिए। सन् २००१ को मार्च महिनामा भाले ३ र पोथी २ गरी ५ वटा गैंडा तथा सन् २००२ को मार्चमा भाले ५ र पोथी ५ गरी १० वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा छाडिएका हुन्। त्यस्तै, सन् २००३ अप्रिल महिनामा भाले ३ र पोथी ७ गरी १० वटा गैंडा र सन् २०१६ को मार्च महिनामा ३ भाले र २ पोथी गरी ५ वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा छाडिएका हुन्। >
अन्तिमपटक सन् २०१७ को अप्रिल महिनामा १ भाले, ४ पोथी गरी ५ वटा गैंडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानीताल क्षेत्र र १ भाले ३ पोथी गरी ३ गैंडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदी तटीय क्षेत्रमा स्थानान्तरण गरिएका थिए। बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा ३१ वर्षको अवधिमा भाले ३५ र पोथी ४३ गरी ७८ वटा गैंडा तथा कर्णाली नदी तटीय क्षेत्रमा भाले ८ र पोथी ५ गरी १३ वटा गैंडा स्थानान्तरण गरिएका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भाले २, पोथी ७ गरी ९ वटा गैंडा स्थानान्तरण गरिएका थिए।>
पछिल्लो गैंडा गणनाको तथ्यांक २०७७ अनुसार नेपालमा भाले, पोथी गरी ७ सय ५२ वटा एकसिंगे गैंडा छन्। जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६ सय ९४ वटा गैंडा छन्। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैंडा छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा चितवनबाट ९१ वटा गैंडा स्थानान्तरण गरिए पनि यतिखेर ३८ वटा मात्र गैंडा छन्। बाँकी ५३ वटा गैंडा निकुञ्जमा छैनन्। गैंडाको संख्या उल्लेख्य मात्रामा बढ्न पनि सकेको छैन। कहाँ गए त गैंडा ? >
मरे गैंडा
बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार वि.सं. २०४५ सालदेखि ०७५÷७६ सम्मको अवधिमा बर्दियामा ७१ वटा गंैडा चोरीसिकारी तथा प्राकृतिक कारणले मरेका छन्। सोही अवधिमा बर्दियामा भाले १४, पोथी ३ र लिं नछुट्टिएको १७ गरी ३४ वटा गैंडा चोरीसिकारीबाट मारिएका छन्। त्यस्तै, भाले २०, पोथी ११ तथा लिं नछुट्टिएको ६ गरी ३७ वटा गैंडा प्राकृतिक कारणले मरेका छन्। निकुञ्ज विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा चितवन, बर्दिया र पर्सामा गरी २६ वटा गैंडाको मृत्यु भएको छ। जसमध्ये २२ वटा प्राकृतिक, २ चोरीसिकारी र २ वटा करेन्ट लागेर गैंडा मरेका छन्। >
बर्दियामा तत्कालिन द्वन्द्वका वेला चोरीसिकारीबाट धेरै गैैंडा मारिएको पाइन्छ। बर्दियामा गैंडा स्थानान्तरणको अनुपात हेर्ने हो भने यतिका वर्षमा चितवनको तुलनामा गैंडाको संख्या आधा हुनुपर्ने थियो तर त्यसो देखिदैन। बर्दियामा साढे १ दशकदेखि गैंडाको शून्य चोरीसिकार वर्ष मनाइँदै आइएको छ। तर, पनि गैंडाको संख्या वृद्धि हुन नसक्नु बर्दिया राष्ट्रिय निकुञ्ज गैंडा संरक्षणका लागि अफाप सिद्ध जस्तो देखिन्छ। निकुञ्जको बबई उपत्यका क्षेत्रमा धेरै गैंडा स्थानान्तरण गरेको पाइन्छ। तर, पनि यसको संख्या वैज्ञानिक रूपमा बढ्न नसक्दा विज्ञहरूको स्थान छनोट प्रक्रियाको विज्ञतामा समेत प्रश्न खडा हुने सम्भावना बढेको छ। >
बर्दियामा गैंडा नफस्टाउँदा सरकारको गैंडा स्थानान्तरणमा लगानी बालुवामा पानी भएको छ। बर्दियामा गैंडाका लागि आहारा, जलाधार क्षेत्र प्रशस्त भए तापनि यसको संख्या बढ्न सकेको देखिदैन। गैंडालाई पानीको घोल अति आवश्यक हुन्छ, जुन निकुञ्जभित्र पर्याप्त छैन, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले भने। सोही कारणले पनि गैंडाहरू भारततर्फ विचरण गर्ने गरेको पाइएको छ। निकुञ्जभित्र प्रशस्त पानीको घोल निर्माण गर्न नसके बाँकी गैंडाहरूसमेत भारततर्फ स्थानान्तरण हुन सक्ने खतरा देखिएको छ। >
विशेष गरी गैंडाका बच्चा (केटो) लाई बाघले समेत आहारा बनाउने गरेको डा. रामले प्रस्ट्याए। गैंडालाई हिलोसहितको पानीको घोल चाहिन्छ। घोलमा आहाल बसेर गैंडाहरू आनन्द लिने तथा रोग लागेका वेलामा उपचार गर्ने गर्छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा त्यो सुविधा कम छ। यस वर्ष राष्ट्रिय गैंडा गणना तथा अनुगमन गर्नुपर्ने भए तापनि आर्थिक अभावका कारण सरकारले गणना गर्न नसकेको बुझिएको छ। स्रोतको सुनिश्चितता नभएपछि राष्ट्रिय गैंडा गणना नभएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्बाहाङफेले बताए। नेपालमा यूएसएआईडीअन्तर्गतको सहयोग बजेट रोकिएपछि गैंडा संरक्षणसँगै संरक्षण क्षेत्रका धेरै कार्यक्रम प्रभावित बनेका छन्। >
हामीले आन्तरिक रूपमा गैंडा अनुगमन गरिसकेका छौं। आगामी वर्षको योजनामा पनि राखेका छौं। वर्षा पनि सुरु हुने र घाँस बढेकाले अब गैंडा गणना असम्भव छ। उनले भने, स्रोत सुनिश्चित भएपछि आगामी चैत वा बीचमा गैंडा गणना हुन्छ। निकुञ्जमा बासस्थान राम्रै भए पनि हिउँदमा पानी अभावले गैंडाहरू भारततर्फ जाने र पानी परेपछि फर्किने गरेको उनले प्रस्ट्याए। बर्दियामा केही दशकदेखि शून्य चोरीसिकार वर्ष मनाइएको छ। प्राकृतिक कारणले पनि गैंडा मरेका छन्। गैंडाको संख्या किन बढ्न सकेन अध्ययन, अनुसन्धान जरुरी छ, उनले भने।>
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको एकसिंगे गैंडा । >
>>>>>