रौतहटका वरिष्ठ समाजसेवी जयसवालको निधन

Jasus Khabar 3925+ समाचार ( )
३ जेठ २०८२

रौतहटको गरुडामा अनाथालय, विद्यालय तथा मन्दिरको स्थापना र संचालनमा सम्पूर्ण जीवन खर्चेका वरिष्ठ समाजसेवी वंशीराम जयसवालको ९३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि शारीरिक समस्यामा रहेका समाजसेवी जयसवालको उपचारका क्रममा गरुडास्थित अनामिका अस्पतालमा निधन भएको भतिज पंकज जयसवालले जानकारी गराएका छन्।  

२०५२ सालमा जयसवालले आफ्नो नाममा वंशीराम जयसवाल अनाथालयको स्थापना गरेका थिए। गरुडा ४ बजारमा रहेको आफ्नो जमिनमा अनाथालय स्थापना गरी जयसवालले परिवार त्याग गरेर अनाथहरूसँगै बस्न थालेका थिए। अनाथ बालबालिकाको पठनपाठनको लागि जयसवालले आफ्नै जमिनमा अनाथालय प्राथमिक विद्यालयको स्थापना गरी संचालन तथा व्यवस्थापन गरेका थिए। यसैगरी आफ्नो निजी जमिन नि:शुल्क दिएर जयसवालले गायत्री शक्तिीठको स्थापना र संचालन गराएका थिए।  

जयसवालले स्थापना गरेको अनाथालयमा बसेर हुर्के तथा पढेका दर्जनौँ मानिस नेपाल, भारत र दक्षिण कोरियामा विभिन्न सम्मानित पेसामा सेवारत रहेका छन्। अनाथालयमा अहिले पनि २४ जना बालबालिका रहेका छन्।  

समाजसेवी जयसवालको शवलाई केही समय श्रद्धाञ्जलिका लागि अनाथालयमा राखिने र अनाथालयमा नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया