राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेकोमा उनीहरूको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । >
‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन् । तर, सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । आज नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ,’ उनले भने । >
दलालका कारण धेरै घरबारविहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनले आरोप लगाए । ‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौँ मान्छे दलालले ठगेर घरबारविहीन भएका छन् । श्रममन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने हो ? यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन,’ उनले भने । >>