सशस्त्र प्रहरीको सुरक्षित सीमा, सुरक्षित जीवन अभियान समापन

Jasus Khabar 3958+ समाचार ( )
४ आषाढ २०८२

अजमल अन्सारी

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीद्वारा सञ्चालन गरिएको "सुरक्षित सीमा, सुरक्षित जीवन" अभियान बुधबार कोशी गाउँपालिका–१ स्थित वि.पी. स्मृति भवन लोैकही चोकको सभाहलमा एक कार्यक्रमबीच सम्पन्न भएको छ।


समापन कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका सचिव राम प्रसाद आचार्यले सीमा सुरक्षा सुदृढ पार्न प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबीच सहकार्य अपरिहार्य भएको बताए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, "सिमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप, मानव तस्करी नियन्त्रण र आपराधिक गतिविधिमा कडाइका साथ नियन्त्रण गर्नु हाम्रो प्राथमिकता हो। प्रदेश सरकारले सुरक्षा निकायको योजना र अभियानमा आवश्यक सहयोग पुर्याउनेछ।"


समापन कार्यक्रमका विशिस्ट अतिथि अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्युपानेले सीमावर्ती क्षेत्रमा सुरक्षा सुदृढ पार्न सशस्त्र प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहेको उल्लेख गरे। उनले भने, "सिमा क्षेत्रमा शान्ति, सुरक्षा र आपराधिक गतिविधिमा नियन्त्रण गर्नु सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो। स्थानीय सरकार, भन्सार तथा सरोकारवाला निकायसँग समन्वय गरेर अझ प्रभावकारी रूपमा सीमा सुरक्षा गर्ने हाम्रो योजना छ।"


त्यसैगरी कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको सक्रिय भूमिका सराहना गर्दै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, "अवैध ओसारपसार, मानव तस्करी जस्ता आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी बलको योगदान उच्च छ। हामी पालिकाबाट आवश्यक समन्वय र सहयोग गर्दै जानेछौं।"


कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, भन्सार कार्यालय सुनसरीका प्रमुख राधेश्याम दाहाल लगायतका सरोकारवालाहरूको उपस्थिति थियो। अभियान अन्तर्गत सीमा क्षेत्रमा सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम, अवैध क्रियाकलाप नियन्त्रण तथा स्थानिय सरकार र सुरक्षाकर्मीबीच समन्वय सुदृढीकरणका काम गरिएका छन्।

प्रतिक्रिया