सशस्त्र प्रहरीको ठुलो सफलता: बराहक्षेत्रबाट १ सय ७७ केजी गाँजा बरामद

Jasus Khabar 3958+ समाचार ( )
लागूऔषध जस्तो सामाजिक अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल सतर्क छ।
१२ वैशाख २०८२

अजमल अन्सारी

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मन्दिर स्थितबाट ठूलो परिमाणको लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल सुरक्षा बेस चतरा र नम्बर ४ गण मुख्यालय सुनसरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बराहक्षेत्र मन्दिरस्थित पूर्व क्षेत्रबाट १ सय ७७ किलोग्राम गाँजा बरामद गरेको हो।


पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ छिन्ताङ्ग निवासी ५७ वर्षीय धनबहादुर राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सिलपाखा निवासी ३० वर्षीय दीपक राई रहेका छन्।


सशस्त्र प्रहरी बलका अनुसार उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा ठूलो मात्रामा गाँजा बरामद भएको हो। बरामद गाँजासहित दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका गणपति प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले लागूऔषध कारोबार र ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन सुराकी सूचना र नियमित गस्तीलाई अझ सशक्त बनाइएको बताउनुभयो। उनले भने, “लागूऔषध जस्तो सामाजिक अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल सतर्क छ। यस किसिमको अवैध गतिविधि हुन नदिन थप निगरानी र कारबाही जारी राखिनेछ।”

प्रतिक्रिया