सप्तकोशी नदी हुँदै गाँजा ओसारपसार, २०० के.जी. लागू औषध प्रहरीको नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
१७ जेठ २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदी हुँदै ओसारपसार गर्न लागिएको ठूलो परिमाणको लागू औषध गाँजा सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ।


बिशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराको संयुक्त टोलीले शुक्रबार बिहान करिब २ बजेको समयमा सप्तकोशी नदीमा बेवारिसे अवस्थामा बगिरहेको दुई वटा ट्युब फेला पारेको थियो।


ट्युबलाई पछ्याउँदै कोशीपुलदेखि १.५ किलोमिटर दक्षिणतर्फ नदी किनार ल्याएर चेकजाँच गर्दा ८ वटा प्लास्टिकको बोरामा पोका पारिएको २०० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार गाँजा बरामद गरिएको र हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। लागू औषध तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी उनले दिए।


“लागू औषध जस्तो सामाजिक विकृति र अपराधिक कारोबारमा संलग्न हुने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिनेछ,” प्रहरी उपरीक्षक तिम्सिनाले भन्नुभयो।


एसपी तिम्सिनाका अनुसार पछिल्लो समय सप्तकोशी नदीमार्ग हुँदै लागू औषध तस्करीका घटना दोहोरिन थालेपछि प्रहरी प्रशासनले निगरानी र गस्तीलाई थप कडा बनाएको छ। प्रहरीले गाँजा बरामदसँगै ट्युबलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान गरिरहेको छ।


सुनसरी प्रहरीका अनुसार सप्तकोशी नदी तस्करीका लागि सुरक्षित मार्गका रूपमा प्रयोग हुने गरेको सूचना प्राप्त भइरहेकाले अब सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै थप संयुक्त अपरेसन सञ्चालन गरिने तयारी गरिएको छ।

प्रतिक्रिया