वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि ?

Jasus Khabar 3925+ समाचार ( )
७ श्रावण २०८२

काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजिन् । पेसाले स्टाफ नर्स उनी गएको मध्य असारमा साथीहरुसित तीन हजार ८०० मिटर उचाइको कोरी पुगिन्। पदयात्रामा उनीसहित सात जना थिए । पोखराबाट मादी गाउँपालिका–१ सिक्लेससम्म तीन घण्टाको मोटरयात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगे । 

त्यस दिन तसमै रात काटे । भोलिपल्ट त्यहाँबाट पैदल सात घण्टामा कोरी पुगे । कोरीको सौन्दर्यबारे देखे सुनेर लालयीत बनेका उनीहरूले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त ? पौडेलले भनिन्, ‘त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका पाटन र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदो रहेछ ।’

पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उनले सुनाइन्। हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुले पनि रिमझिम वर्षा र बाँदलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताइन्।

‘अर्कोदिन मौसम राम्ररी खुल्यो, हिमाल र डाँडापाखाको दृश्यवालोकन गर्न पायौँ’, उनले भनिन्, ‘मनसुनको याममा मुख्य गरी कोरीको आकर्षण बनेको भुइँभरि देखिने रङ्गीचङ्गी फूल र हराभरा देखिने प्रकृति नै हो ।’ पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरू मिलेर घुम्ने योजना बनाएको बताइन्। 

प्रतिक्रिया