बाँझो बारीमा आलुखेती : प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ पहल

Jasus Khabar 3959+ समाचार ( )
१ जेठ २०८२

मोदी गाउँपालिकाले आम्दानी बढाउन १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती सुरु गरेको छ। पालिकाले क्याङमा यो खेती थालेको हो।

मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलो पटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त श्रमिकलाई परिचालन गरेर यो खेती गरिएको हो।  

व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिदमा पालिकाले ९५ हजार रुपैयाँ लगानी गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भएको गुनासो आइरहेका बेला पालिकाले कृषि उत्पादनमा श्रमिक परिचालन गरेको क्षेत्रीले बताए।  

मोदी गाउँपालिकाको वडा नं १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन्। लामो समय बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि भाडामा लिएर आलुखेती गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताए। उनले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान गरेको बताए।  

पालिकाले हरेक वर्ष १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम एक सय दिनको रोजगारी दिँदै आएको छ। उनीहरूलाई सडक मर्मत, गोरेटो, पदमार्ग, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत र निर्माणजस्ता काममा परिचालन गरिन्छ। रासस

प्रतिक्रिया