गीताप्रेस नेपालको प्रथम दशक उत्सव: पुराण अनुवाद विमोचन, वेबसाइट र मोबाइल एप लन्च

Jasus Khabar 3925+ समाचार ( )
३१ जेठ २०८२

गीताप्रेस नेपालको स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा  श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन,  वेबसाइट (gitapressnepal.org, gitapressnepal.com) र मोबाइल एप GitaPress Nepal को लन्च कार्यक्रम पशुपतिनाथ क्षेत्रको माधव राज सुमार्गी स्मृति भवनमा भव्य रूपमा सम्पन्न भएको छ ।

गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखाका रूपमा २९ जेठ २०७३ मा स्थापित गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको १० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा गीताप्रेस नेपालका अध्यक्ष जय किसन साडाको सभापतित्व, गीताप्रेस गोरखपुरका प्रवन्धक डा. लालमणि तिवारीको प्रमुख आतिथ्य, पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनको विशिष्ट आतिथ्य तथा गीता परिवार नेपालकी अध्यक्ष सारिका अग्रवालको आतिथ्यमा धर्मानुरागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गीताप्रेस नेपालको दश वर्ष: उपलब्धि र योगदान

कार्यक्रममा अध्यक्ष जय किसन साडाले गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा १९ जेठ २०७३ (११ जून २०१६) मा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. गोविन्द टण्डन, गीताप्रेस गोरखपुरका प्रवन्ध न्यासी विष्णु प्रसाद चाँदगोठिया, देवीदयाल अग्रवाल र नारायण अजीतसरियाको संयुक्त करकमलबाट उद्घाटन भएको स्मरण गरेका थिए । उनले गीताप्रेसका प्रकाशनहरूको प्रचार-प्रसार, निःशुल्क अध्ययन र सुसंस्कृत समाज निर्माणको उद्देश्यसहित मोबाइल एप र वेबसाइट लन्च गरिएको बताए । यी प्लेटफर्ममा पुराण, रामायण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजन र महत्त्वपूर्ण लेखहरू समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय पहुँच र गीता भवनको योजना

गीताप्रेस नेपालले सिंगापुर, इन्डोनेसिया, दुबई, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा पुस्तकहरू पठाउने र विदेशका मन्दिरहरूमा प्रकाशनहरू उपलब्ध गराउने कार्य गरिरहेको छ । अध्यक्ष साडाले पशुपति क्षेत्र आसपास ‘गीता भवन’ निर्माणको योजना प्रस्तुत गर्दै यसको उद्देश्य सत्साहित्यको थोक तथा खुद्रा विक्री केन्द्र स्थापना, पुस्तक गोदाम, वितरण कार्यालय, मोबाइल गाडीमार्फत देशव्यापी प्रचार-प्रसार र अनलाइन पुस्तक वितरणको दीर्घकालीन योजना रहेको बताए । यसका लागि १५०० वर्गफुट क्षेत्रफलको जग्गा खोजी कार्य जारी छ र प्रचार-प्रसार केन्द्रलाई २१ ट्रस्टीसम्म विस्तार गर्ने योजना छ ।

श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको विमोचन

कार्यक्रममा श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवादको विमोचन गरिएको थियो । यी अनुवादले नेपालीभाषी पाठकहरूलाई आध्यात्मिक ज्ञानमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।

गीताप्रेस नेपालले पशुपतिनाथ मन्दिर क्षेत्रमा पहिलोपटक श्रीगीता जयन्ती महोत्सव आयोजना गरी नेपाली भाषामा सरल गीता प्रकाशित गरेको छ। डा. वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा 'घर-घर गीता- हाम्रो अभियान' मार्फत हजारौँ विद्यार्थीलाई निःशुल्क गीता वितरण गरिएको छ । यो अभियान नेपालका विद्यालय, गुरुकुल र नेपालीभाषी समुदायसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डा. लालमणि तिवारी, विशिष्ट अतिथि गणेश रावल भट्ट, डा. गोविन्द टण्डन र गीता परिवारकी अध्यक्ष सारिका अग्रवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गीताप्रेस नेपालका उपाध्यक्ष ईश्वरी प्रसाद रिमालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन यदुनन्दन भारद्वाजले गरेका थिए ।

गीताप्रेस नेपालले ६० भन्दा बढी सत्साहित्यको नेपाली अनुवादका लागि प्रा. शिव गोपाल रिसाल, डा. गोविन्द टण्डन, डा. काशीनाथ न्यौपाने, आचार्य लक्ष्मण भण्डारी, प्रा. पदमप्रसाद भट्टराई, स्व. विष्णुराज आत्रेय, केदारनाथ दास, माहेश्वर खनाललगायतप्रति कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया