‘देश’ भनेको माटोमात्रै होइन। हिमाल, पहाड, तराई–मधेस, डाँडाकाँडा, नदीनाला, मान्छे हुनुमात्रै होइन देश। देशभित्र भौगोलिक सिमानाका साथसाथै सार्वभौमसत्ता, राजनीतिक प्रणाली, नागरिक, सरकार, सरकारका विभिन्न अंगहरू, संविधान, नियम, कानुन, संस्कार, संस्कृति हुन्छ। नागरिकभित्र पनि विभिन्न जातजाति, धर्म, परम्परा, रीतिरिवाज, भाषाभाषी हुन्छ। घटना क्रमअनुसार देश बन्ने, भत्कने क्रम चलिरहन्छ। आज संसारका देशहरू लडाइँ, अतिक्रमण, आक्रमणबाट साना, ठूला बनेका हुन्। सानै भए पनि त्यो देशको पहिचान, आत्मसम्मान आफ्नैअनुसारको हुन्छ। स्वाभिमान सानो–ठूलो हुँदैन। देश जत्रो भए पनि त्यहाँभित्र अनेक अवयवहरू हुन्छन्। ती विभिन्न अवयवमध्ये एकदमै महत्त्वपूर्ण अवयेव हो आमसञ्चार माध्यम।>
देश निर्माणमा आमसञ्चार माध्यमको भूमिका प्रभावकारी हुन्छ, हुनुपर्छ। यो नभई समाजको सञ्चार प्रक्रिया अगाडि बढ्न सक्दैन जसरी मुटु नभई शरीरमा रक्तसञ्चार हुँदैन। तर आमसञ्चार माध्यमको भूमिका सदैव सकारात्मक–आलोचनात्मक हुनु पर्दछ। किनकि आमसञ्चार माध्यमले मात्र एकैपटकमा अथाह मानिसमा सूचना सम्प्रेषण गरेर जनचेतना अभिवृद्धि गर्न सक्छ। राज्य र नागरिकको बीचमा सेतुको काम गर्ने स्वतन्त्र क्षेत्र भनेकै आमसञ्चार माध्यम हो। गणतन्त्र, लोकतन्त्रको संरक्षण र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा आमसञ्चार माध्यमले नै शक्तिशाली र प्रभावकारी भूमिका खेल्न सक्छ। >
नागरिकमा निराशा भएमा देश भत्कँदै मात्रै छैन बन्दैछ भन्ने सन्देश एकैसाथ दिने तागत कसैमा छ भने आमसञ्चार माध्यममा मात्र छ। आफै जिम्मेवार भई विषयवस्तु उठाएर वा विभिन्न राजनीतिक पार्टी, नेता, बुद्धिजीवीका भनाइलाई ठाउँ दिएर आमसञ्चार माध्यमले नागरिकमा मडारिएको निराशा–कुण्ठाको बादल हटाउन मद्दत गर्न सक्छ। जस्तो कि वर्तमान अवस्थामा आमसञ्चार माध्यमले संघीय लोकतान्त्रिक गणतन्त्रमा सकारात्मक कार्यहरू पनि भइरहेका छन्, संविधान बनेको १० वर्षभित्रै रातारात सोचे र चाहेजस्तो परिवर्तन हुन नसक्नाका कारण यी यी हुन्, यसमा मुलुकका सबै पक्षको जिम्मेवारी र भूमिका हुन्छ भन्ने सन्देश दिन सक्छ, दिनुपर्छ।>
पत्रकार र आमञ्चार माध्यमले आम नागरिकमा सही, सन्तुलित, यथार्थ र तथ्यपूर्ण सूचना, समाचार तथा समाचार–सामग्री सम्प्रेषण गर्नुपर्दछ। मिथ्या, गलत, काल्पनिक सूचना, प्रोपगाण्डाले सामाजिक सद्भाव भड्काउने, अस्थिरता निम्त्याउने कार्य गर्दछ। अहिलेको संसारलाई ‘भर्चुअल संसार’ भनिन्छ अर्थात् यो डिजिटल युग हो। यस युगमा मानिसले जहाँबाट जसरी पनि सूचना, समाचार ग्रहण गर्न, पढ्न पाउँछन्, सक्छन्। त्यसैले सूचना तथ्यपरक र सन्तुलित नभएमा आम मानिसमा गलत सन्देश पर्न गई नकारात्मक धारणा विकास हुन्छ। यसको असर देश निर्माणमा पनि पर्छ। सही, सन्तुलित, तथ्यपरक, यथार्थपरक सूचना, सामग्री उपलब्ध गराउनु आमसञ्चार माध्यमको दायित्व नै हो।>
अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, सुशासन नभई लोकतन्त्र बाँच्न सक्दैन। मजबुत लोकतन्त्र नभई देश विकास हुन सक्दैन। आमसञ्चार माध्यमले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, सुशासनमा उत्तिकै चनाखो भई आवाज उठाउनु पर्दछ। किनकि यी आधारहरू भए मात्र लोकतन्त्रको जग बलियो हुन्छ। लोकतन्त्रलाई सफल पार्न, यसप्रति नागरिकमा वितृष्णा उत्पन्न हुन नदिन, उत्पन्न भए पनि समयमै सम्बोधन गर्न लोकतन्त्रका असल अभ्यासहरूबारे आम मानिसमा सकारात्मक जानकारी गराउन चुक्नु हुन्न पत्रकार र आमसञ्चार माध्यम।>
राज्यका वास्तविक अवस्था, समस्या, सरकारका नीति, कार्यक्रम र निर्णय, गतिविधि, उपलब्धि जनतामा पुर्याउनुपर्दछ। यस्तै अल्पसंख्यक समुदाय, महिला, आदिवासी–जनजाति, सीमान्तकृत वर्ग, विभिन्न प्रतिभाका विषय, आवाज, धारणालाई प्राथमिकतामा राखी सरकार र सरकारका तत्तत् निकायसम्म पुर्याउनुपर्दछ। यसो गर्दा गणतन्त्र बलियो हुँदै जान्छ। गणतन्त्र बलियो भई राजनीतिक स्थिरता कायम भएमा देश बन्दै जान्छ। किनकि हाम्रो देश द्रूत गतिमा बन्न नसक्नुको प्रमुख कारण राजनीतिक खिचातानी र अस्थिरता हो।>
पत्रकार र आमसञ्चार माध्यमले भुल्नै नहुने कुरा यो छ कि देश बन्नु वा विकास हुनु भनेको भौतिक संरचनाहरू मात्रै निर्माण हुनु र मानिस भौतिक रूपले समृद्ध हुनु मात्रै होइन। जहाँ भावनात्मक राष्ट्रिय एकता कायम हुँदैन, त्यहाँ देश विकासमा अवरोध खडा हुन्छ। विश्वका विगत र वर्तमानका घटनाक्रमबाट पनि यसलाई हृदयंगम गर्न सकिन्छ। त्यसैले पत्रकार र आमसञ्चार माध्यमले राष्ट्रिय–सामाजिक भावनात्मक एकता, साझा पहिचान निर्माण गर्न, सामाजिक सद्भाव, सहिष्णुता, जातीय, धार्मिक, क्षेत्रीय वा भाषिक एकता कायम गर्न भूमिका खेल्नुपर्दछ। यी पक्षहरूलाई जुधाउने, भड्काउने प्रवृत्तिलाई परास्त गर्न कलम, कापी, क्यामेरा, बुमको सही सदुपयोग गर्नुपर्दछ। यस्तो प्रवृत्तिबाट आफू पनि जोगिनुपर्दछ।>
पत्रकार र आमसञ्चार राज्यका विभित्र संयन्त्र, शासक, प्रशासकमाथि प्रश्न उठाउन, निगरानी गर्न सक्ने र पाउने क्षेत्र हो। त्यसैले यो जगत्ले शासन प्रणालीलाई पारदर्शी, जवाफदेही, जनमुखी बनाउने सन्दर्भमा तथ्यपरक रूपमा नीतिनिर्माता र यसका ‘एक्टर’ लाई निगरानी गर्न छाड्न हुँदैन। विभेद, असमानता र भ्रष्टाचारका विपक्षमा उभिन डराउनु हुँदैन।>
जनतामात्र हैन, कहिलेकाहीँ शासक, प्रशासक, नेतामा पनि नैराश्यता उत्पन्न हुन सक्छ। किनकि उनीहरू पनि मानिस नै हुन्। त्यसैले संघर्षशील व्यक्ति, नेता, महापुरूषका कथाव्यथा–गाथा पस्किएर उनीहरूमा आशावादी सोच, आत्मबल बढाउनमा साथ दिनुपर्छ। संसारका सबै देशहरू मानिसहरूकै सोच, क्षमता, दक्षताका कारण विकसित भएका हुन्। नेपालमा पनि केही न केही गर्न सकिन्छ भन्ने आँट जगाइदिनुपर्छ। विकास, समृद्धिका सम्भावनाका मार्ग देखाई दिनुपर्छ। मुलुक सबैको साझा घर हो भन्ने भावना जगाउन समावेशी सिद्धान्तलाई व्यवहारमा लागू गराउन सम्बन्धित पक्षलाई घच्घच्याइरहनु पर्दछ। सरकार र नागरिकको सम्बन्धलाई सुमधुर बनाई राख्नुपर्दछ। आमसञ्चार माध्यमले आफ्नो प्लेटफर्ममा नागरिक समाज, युवा, महिला, किसान, मजदुर, बालबालिका, ज्येष्ठ नागरिकलगायत समाजका विभिन्न पक्षका मागलाई मुखरित हुन दिनुपर्छ। यसका साथै नागरिक शिक्षा, साक्षरता, कानुन, नागरिकका कानुनी अधिकार, स्वास्थ्य, यौनशिक्षा, पर्यावरण, वातावरण, जलवायु परिवर्तन आदिजस्ता विषयमा जानकारी दिनुपर्छ। पत्रपत्रिका, रेडियो, टीभी, अनलाइन, युट्युब, टिकटकबाट यस्ता विषयमा अभियानमूलक कार्यक्रम चलाउन सकिन्छ।>
नेपालमा राजनीतिक द्वन्द्व कायमै छ। राज्य चल्ने, चलाउने कार्यमा परिवर्तनका सहयात्री दलहरूबीच नै खिचातानी भइरहँदा पुराना शक्ति हाकाहाकी व्यवस्था (गणतन्त्र) का विरुद्धमा सडक–सदनमा उत्रेका छन्। बदलिँदो राजनीतिका कारण अधिकांश आमसञ्चार माध्यम विभाजित जस्तै देखिएका छन् भने अन्यजस्तै समग्र आमसञ्चार क्षेत्र पनि आलोचनामुक्त छैन। आमसञ्चार माध्यम स्वतन्त्र, व्यावसायिक भएनन् भन्ने गुनासाहरू आउने गरेका छन्। राज्यको उपल्लो ओहोदामा बसेका व्यक्तिहरूबाटै यस्ता आलोचना, गुनासाहरू आएको देखिन्छ। प्रेस काउन्सिलमा परेका उजुरी, जनगुनासालाई हेर्दा पनि यस्तै छनक पाइन्छ। अनलाइन सञ्चार माध्यमको संख्या दिनहुँ बढिरहेको छ। यी सबै सही उद्देश्य बोकेका मात्रै छैनन्, धेरैजसो जिम्मेवारमूलक पत्रकारिताभन्दा यसको माध्यमबाट कमाउन सकिने सपना बोकेर आएका छन्। मिडियाको आवरणमा सिधै ठगी, बार्गेनिङ बढेको देखिन्छ। पत्रकार आचारसंहिताविपरीत समाचार सम्प्रेषण हुने प्रवृत्ति देख्दा कतिपय आमसञ्चार माध्यम बार्गेनिङकै लागि जन्मेका हुन् कि भन्ने आभास पाइन्छ। प्रेस काउन्सिलमा पर्ने विभिन्न उजुरीमध्ये कतिपय उजुरीमा पत्रकार र आमसञ्चार माध्यमले बार्गेनिङ गरेको आरोप लगाएको देखिन्छ। अर्कोतिर अहिलेको सबैजसो आमसञ्चार माध्यममा पत्रकारिताभन्दा सूचनाकारिता छ। केहीबाहेक धेरै छापा माध्यमले पुरानै लय छोड्न सकेका छैनन्। टेलिभिजनहरूमा घुमाउरो ढंगले मिसन घुसेको पाइन्छ। एफएम रेडियोहरूले चुनावका बेलाबाहेक अन्य अवस्थामा आफ्नो सशक्त प्रस्तुति–प्रभाव देखाउन सकेको पाइँदैन। पाँच हजार नाघिसकेका अनलाइन माध्यमहरूमध्ये ९५ प्रतिशतलाई ‘मनलाइन’ भन्दा हुन्छ।>
अतः सबै क्षेत्रलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न सक्ने पत्रकार र आमसञ्चार माध्यमलाई देश बनाउने सहीमार्गमा हिँडाउन विभित्र जिम्मेवार निकायको महत्त्वपूर्ण भूमिका हुन्छ, हुनुपर्छ। यसमा सबै पक्ष जिम्मेवार बन्नै पर्दछ। सबैभन्दा पहिले सरकार जिम्मेवार बन्नुपर्छ। सरकारको सूचना, सञ्चार, आमसञ्चार, पत्रकारिता हेर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल यी क्षेत्रसँग सम्बन्धित सञ्चार नीति, आचारसंहिता अनुगमन, दूरसञ्चारको व्यवस्थापनसम्बन्धी नीति ल्याउनुपर्दछ। यससँग सम्बन्धित ऐन, कानुन ल्याउन सहजीकरण गर्नुपर्दछ। डिजिटल÷मिडिया लिटरेसी बढाउनुपर्छ। साधनस्रोत, जनशक्तिका हिसाबले प्रेस काउन्सिललाई सशक्त बनाएर पत्रकार र मिडिया अनुगमनलाई निरन्तर रूपमा प्रभावकारी बनाउनुपर्छ। पत्रकार आचारसंहिताको अनुगमन, कारबाही, सचेतनालाई निरन्तर अभियानका रूपमा अगाडि बढाउनुपर्छ। भर्खरै बनेको सार्वजनिक सेवा प्रसारण (पीएसबी) लाई टेलिभिजन, रेडियो र अन्य प्रसारण माध्यमहरूको इजाजत दिएर देश निर्माण र आवाजविहीन जनताको आवाजका रूपमा परिणत र परिचालन गरी प्रभावी बनाउनु पर्दछ। विज्ञापन बोर्डले विज्ञापन नियमन, कारबाही र सुधारमा विशेष जोड दिनुपर्छ। सरकारी, निजी क्षेत्रका मिडिया हाउसहरूले आन्तरिक आचारसंहिता, गुनासा युनिट बनाएर स्वनियमनमा जोड दिनुपर्छ। नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता, पत्रकारका पेसागत, भौतिक सुरक्षा, मिडियाहरूको रक्षामा सतिसाल भएर उभिनुपर्छ। पत्रकारको सीप, दक्षता, क्षमता अभिवृद्धिमा जोड दिई यो सशक्त क्षेत्रलाई देश विकासमा लगाउने अभियानलाई सघाउनु पर्दछ। स्वच्छ, स्वस्थ, मर्यादित पत्रकारिताका लागि स्वनियमनमा अभिप्रेरित गर्नुपर्दछ। >
>
यसमा मिडिया सञ्चालक, लगानीकर्ता, सम्पादक, समाचार प्रमुखहरूको पनि उत्तिकै महत्त्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका हुन्छ। किनकि आ–आफ्नो मिडियामा विश्वसनीय, निष्पक्ष र जिम्मेवारपूर्ण सामग्री संकलन, उत्पादन र सम्प्रेषण गर्ने ‘भिटो पावर’ उहाँहरूकै हातमा हुन्छ। पत्रकार र मिडियालाई कुन मार्गमा गुडाउने भन्ने ‘स्टेयरिङ’ उहाँहरूमै हुन्छ। उहाँहरूले चाहे पत्रकार र मिडिया थप अनुशासित बन्न सक्दछन्। ‘हाम्रा’ हैन कि ‘राम्रा’ पत्रकार र मिडियालाई पलायन हुनबाट जोगाउने कार्यक्रम ल्याउन ढिलाइ गर्न हुन्न। यसका साथै नेपाल दूरसञ्चार प्राधिकरण, तालिम, प्रशिक्षण दिने संस्थाहरू, नागरिक समाज, पत्रकार र मिडियासँग सम्बन्धित विभिन्न संस्था, पत्रकारिता र आमसञ्चार विषयका अध्यापक, अध्ययनकर्ता, अनुसन्धानकर्ता, विज्ञ, तथा सरोकारवाला निकाय, व्यक्तिहरूले पत्रकार र आमसञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्तालाई जवाफदेही बनाई देश निर्माण अभियानमा सघाउनु पर्दछ।>>