घरखर्च चलाउने माध्यम बन्याे निहुरो

Jasus Khabar 3945+ समाचार ( )
१४ श्रावण २०८२

म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो) ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ।

केही वर्षअघिसम्म जङ्गलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन्। अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए।

“बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरू साउन र भदौमा दैनिकजसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्”, उनले भने, “गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पु¥याउँछन्।”

दोवामा निहुरोबाट वार्षिक २५ देखि ३० लाख  रूपैयाँ नगद  भित्रिने गरेको वडाध्यक्ष गर्बुजाले बताए।

दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताइन्। “कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ”, उनले भनिन्, “फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौं।”

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५ सय किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन्। बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौं पठाउने गरेको बताए।

“बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य  १०० देखि १२० रूपैयाँसम्म पर्छ”, उनले भने, “गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो। यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्र निहुरो आएको छ। माग धान्न सकिएको छैन।”

समुद्री सतहदेखि एक हजार ५ सयदेखि दुई हजार ५ सय मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रूपमा उम्रन्छ। निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ। मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ। यो एक जैविक तरकारी समेत हो। निहुरो टुसा पलाएको चारपाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ। निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ। बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताए।

स्वास्थ्यकर्मीहरूकाे अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ। आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ। मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ। यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ।  

प्रतिक्रिया

सम्बन्धित समाचार