नेपालमा खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि खेल पूर्वाधार निर्माणले पछिल्लो एक दशकमा निकै फड्को मारेको छ। भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना गर्नका लागि देशका सातवटै प्रदेशहरूमा विभिन्न पूर्वाधार निर्माण हुनुले मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ। मुलुकमा विगतको तुलनामा प्रतियोगिताहरूको आयोजना तथा अन्तर्राष्ट्रिय सहभागितामा बढ्दो चासोका कारण पनि हरेक जिल्लामा खेल पूर्वाधार निर्माणको लहर नै चलेको छ।>
मुलुककै एक दुर्गम प्रदेशका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न भएको छ। आगामी जेठ ३ गतेबाट तोकिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश रंगशाला तयार गरिएको हो। तर प्रतियोगिता भने संघ र प्रदेश सरकारको बेमेलका कारण अनिश्चित छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्यस्थल रहेको रंगशालामा १० हजार दर्शक अट्नेछन्। यो रंगशाला फिफा मापदण्डअनुसार निर्माण गरिएकाले फुटबलसहित १६ वटा खेल खेलाउन सकिनेछ। भीभीआईपी र भीआईपी प्यारापिटमा ४ हजार दर्शक बसेर हेर्न मिल्ने गरी रंगशाला बनाइएको तत्कालीन प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव विश्वमित्र सन्ज्यालले बताए।>
उनका अनुसार एथलेटिक्सका लागि ८ लेनको ४ सय मिटर ट्र्याक निर्माण भएको छ। पौडीका लागि स्विमिङ पुल बनिसकेको छ भने बास्केटबल, भलिबललगायतका खेलका लागि आउटडोर र इनडोर कोर्ट बनाइएको छ। कभर्ड हलमा पनि झन्डै एक हजार दर्शक अट्ने छन्। बक्सिङ, तेक्वान्दो, उसु, कराते, ब्याडमिन्टनलगायत खेल पनि कवर्ड हलमा सञ्चालन गर्न सकिनेछ। ९ बिगाहा क्षेत्रफलमा फैलिएको रंगशालाको २०७८ मंसिरदेखि निर्माण थालिएको थियो। यस्तै सुर्खेतमा चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ। २०८१ सालमा १० औँ राष्ट्रिय खेलकुदको मिति तीन पटक घोषणा भए तापनि प्रतियोगिता भने हुन नसक्नु दुःखद् पक्ष मानिएको छ। सरकारले राष्ट्रिय खेलकुदका लागि कुल ६० करोड रुपैयाँ विनियोजन गरेको थियो।>
यस्तै संघीय राजधानी काठमाडौंमा रहेको दशरथ रंगशाला पनि नेपालको खेल पूर्वाधारको अर्को महत्त्वपूर्ण संरचना हो। दशरथ रंगशाला नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो। दशरथ रंगशाला काठमाडौंको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रंगशाला हो। यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रंगशालामा ५ हजार सिट छन् र यसले १५ हजार दर्शक थाम्न सक्छ। यसको निर्माण २०१४ सालमा भएको थियो। धेरैजसो नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस रंगशालामा आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष यस मैदानमा सहिद स्मारक ए–डिभिजन लिग प्रतियोगिताको पनि आयोजना गर्ने गरिन्छ। रातिको समयमा पनि प्रतियोगिता र कार्यक्रम आयोजना गर्न यो सक्षम होस् भनी यसमा फ्लडलाइट जडान गरिएको छ। काठमाडौं आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। त्यो प्रतियोगिता आयोजना हुनुपूर्व चीनको सहयोगमा यो रंगशाला पुनर्निर्माण गरिएको थियो। नेपालको वीर सहिद दशरथ चन्दको नामबाट यसको नामकरण गरिएको हो।>
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगर रंगशाला र धनगढी रंगशाला छन्। अर्को कैलाली फाप्लामा प्रदेशकै ठूलो रंगशाला निर्माण गर्ने तयारी छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डीपीआर तयार भइसकेको छ। नेपाल सरकारले २०७९ सालको जेठमा फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश– २०७९ जारी गरेको थियो। यस बाहेक कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कर्बड हल, कैलालीको टीकापुरमा स्पोर्ट्स एकेडेमी र डडेलधुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कर्बडहल सञ्चालनमा छन्। त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकारहरू बताउँछन्। सुदूरपश्चिम खेलकुदको हब भएको कुरा अहिलेको नतिजाबाट पनि प्रस्ट भएको छ।>
यस्तै गण्डकी प्रदेशको राजधानी पोखरामा पोखरा रंगशाला नेपालको वैकल्पिक राष्ट्रिय रंगशालामध्ये एक हो। दशरथ रंगशालाको पछि विकल्पका लागि उपत्यका बाहिर कर्णाली र पोखरा रंगशाला पर्दछन्। पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो। यहाँ फुटबललगायत अन्य खेलहरू पनि खेल्न सकिन्छ। यो रंगशाला पोखरा सहरको दक्षिणतर्फ सेतीगण्डकी नदी नजिकै रहेको छ। रंगशालाभित्र फुटबल, ह्यान्डबल, ब्याडमिन्टन, क्रिकेट, आर्चरी, टेनिस, स्केट पार्क, स्क्वास, बास्केटबल, भलिबल, बहुउद्देश्यीय कभर्ड हल, सेमी कभर्ड हललगायत खेलकुदका पूर्वाधार तयार छन्। आर्चरी, फुटबल स्टेडियम, भलिबल प्रशिक्षण केन्द्र, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल नेपालकै ठूला खेलकुद पूर्वाधारमध्येका हुन्। झन्डै १६ हजारभन्दा बढी दर्शकहरू अट्ने उक्त रंगशालामा दुईदुई वटा फुटबल मैदानहरू छन्। गण्डकीमा पोखरा रंगशालाका साथै अन्य जिल्लाहरूमा पनि खेल पूर्वाधार विकासले गति लिएको छ।>
यस्तै कोशी प्रदेशमा पनि सहिद रंगशाला विराटनगर यस प्रदेशको एक बहुउद्देश्यीय रंगशाला हो। यसको क्षमता १५ हजार दर्शक अट्नेछ। सहिद रंगशाला पूर्वाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो रंगशाला हो। यस रंगशालाभित्र प्रवेश गर्न तीन मुख्य ढोकाहरू छन्। २०७३ पुस ८ गते यस रंगशालामा सातौं राष्ट्रिय खेलकुद २०७३ को समुद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो। यो नेपालकै तेस्रो सबैभन्दा ठूलो र पूर्वाञ्चलको सबैभन्दा ठूलो रंगशाला हो। यो नेपालको एक फुटबल क्लब मोरङ ११ को गृह मैदानका रूपमा रहेको छ। रंगशालामा कृषि मेलाको आयोजना हुँदै आइरहेको छ। यो रंगशालामा दर्शकलाई धेरै सुविधाहरू दिइएको छ। भित्र आउन र बाहिर जान मुख्य तीन वटा ढोकाहरू रहेका छन्। दर्शकको लागि विशेष बस्ने ठाउँको पनि व्यवस्था गरिएको छ। यो रंगशालाभित्र सौर्य बत्तीहरू जडान गरिएको छ। जसले रातिको बेलामा प्रस्ट दृश्य देखिन्छ। जमिन सुरक्षाको लागि सबैतिरबाट काँडेतारले घेरिएको छ। पार्किङ प्रणालीको त्यहाँ राम्रो व्यवस्था छ।>
यस्तै संघीय राजधानीपछि बढी खेल गतिविधि हुने जिल्ला हो रूपन्देही। संघीय सरकारको लगानीमा रूपन्देहीको भैरहवामा सिद्धार्थ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र बुटवलमा एन्फा एकेडेमी छन्। तीन तहकै सरकारको लगानीका रामनगर, सिद्धेश्वरी, सयपत्रीजस्ता व्यवस्थित खेलमैदान, स्केटिङ, खेल पार्क र इनडोर खेलका व्यवस्थित कभर्डहल छन्। रूपन्देहीमा निजी स्तरका १३ वटा फुटबल, क्रिकेट, बाँस्केटबल, लनटेनिस एकेडेमी छन्। जसले खेलाडीलाई इनडोर र आउटडोर खेलको नियमित अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सघाएको छ। खेलसंस्थाहरू सक्रिय बन्दा नियमित म्याराथन, साइक्लिङ, शारीरिक सुगठनजस्ता प्रतियोगिता पनि हुने गरेका छन्।>
२०७६ सालमा लुम्बिनी प्रदेशमा आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेल आयोजना भए। प्रतियोगितालाई लक्षित गरी बाँकेमा संघीय सरकारले ४८ करोड लगानीमा खेलकुद पूर्वाधार निर्माण गर्यो। बाँकेमा अहिले सुविधासम्पन्न फुटबल मैदान, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, भलिबल रंगशाला, पौडीपोखरी, कभर्ड हल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन्। दाङको तुलसीपुरमा संघीय सरकारले बनाएको बेलझुन्डी रंगशाला छ। जसमा फुटबल र अन्य एथलेटिक्स प्रतियोगिता हुन्छन्। दाङ लमहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा घोराहीमा गुलरिया क्रिकेट स्टेडियम छन्। जसमा राष्ट्रियस्तरका खेल प्रतियोगिता हुने गरेका छन्।>
>
यस्तै मधेस प्रदेशमा पनि पछिल्लो समय खेल पूर्वाधारहरू धमाधम बनिरहेका छन्। मधेस प्रदेशको धनुषामा राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला सञ्चालनमा छ। यस्तै राजविराजमा क्रिक्रेट ग्राउन्ड, फुटबल खेल मैदान, शिराशमा खेल मैदान, सर्लाहीमा कबर्डहल र खेलमैदान, रौतहटमा मिनी क्रिक्रेट ग्राउन्ड, बारामा क्रिकेट ग्राउन्ड, पर्सामा नारायणी रंगशाला, महोत्तरीमा महोत्तरी क्रिक्रेट रंगशालालगायतका पूर्वाधारहरू सञ्चालनमा छन्। >>