ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५ देखि १७ गतेसम्म तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। समुन्द्री सतहबाट ३ हजार ५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्ण रमणीय स्थल हो।>
गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार, धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि महोत्सव आयोजना गरिएको हो। महोत्सवले ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्यहरूको पनि प्रचारप्रसार र प्रवर्द्धन गर्नेछ। जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको राईले बताए।>
>
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गरिन्। उनले महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने विश्वास व्यक्त गरिन्।>
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार, महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधिहरू समावेश गरिनेछन्।>
तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुनेछ, जसमा विजेताले नगद रु ५० हजार र उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।>
सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ) तथा स्थानीय जातजातिका संस्कार–संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ।>
धार्मिक पर्यटनको दृष्टिले सिदिङ्वा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ। स्थानीय कैलाश राईका अनुसार, सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको यो धाममा अहिले आन्तरिक पर्यटकको संख्या उल्लेख्य बढेको छ। सिक्रेडाँडाबाट सिदिङ्वा धामसम्म करिब अढाइ घण्टाको पैदलयात्रा लाग्छ।>
यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्यहरू नजिकबाट अवलोकन गर्न सकिन्छ। धार्मिक मान्यताअनुसार सिदिङ्वा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकांक्षा पूरा गरेको स्थल मानिन्छ।>
विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा यहाँ उल्लेख्य संख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन्।>
गाउँपालिका उपाध्यक्ष कडरियाले सामाजिक सञ्जाललगायतका माध्यमबाट यस क्षेत्रमा पर्यटक बढ्न थालेको र गाउँपालिकाले सिक्रेडाँडासम्म सडक ट्र्याक निर्माण, पदमार्ग र प्रवेशद्वार (गेट) लगायतका संरचना निर्माण थालेको जानकारी दिइन्।>
गाउँपालिकाले सिदिङ्वा धाम क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धनका लागि महोत्सवसहित दीर्घकालीन योजना बनाएको छ।>>