नयाँ पुस्ताको विद्रोहभित्र लुकेको नेपाल

Jasus Khabar 3925+ समाचार ( )
३१ भाद्र २०८२

आन्दोलनको चपेटाबाट मुलुकलाई निकास दिने कुरा केवल तत्कालीन प्रतिक्रियाले मात्र सम्भव हुँदैन। यसको दीर्घकालीन ‘सेफ ल्यान्डिङ त्यतिबेला मात्र सम्भव हुन्छ, जब शान्ति, सुरक्षा र सामाजिक उत्तारदायित्वलाई जोड दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ।

राजनीतिक र सामाजिक परिदृश्यमा जे देखिन्छ वा भनौं जे देखाइन्छ, त्यसैलाई यथार्थ ठान्दै अगाडि बढ्ने मनोविज्ञानले जब सतही अवस्था पार गरेर समाजमा यथार्थको परिदृश्य देखिन थाल्छ, तब समाजभित्र विद्यमान गहिरो असमानता, भ्रष्टाचार, वंशवाद र अवसरको अभावलाई भत्काउन युवा एकीकृत हुँदै एक विद्रोहको जन्म हुन्छ। नेपालको जेन–जी आन्दोलन यही विद्रोहको जन्म हो।

भ्रष्टाचारविरुद्वको जेन–जी युवा आन्दोलनले सडकमा सशक्त विद्रोह मात्र गरेन, वर्षौंदेखि सत्तामा बसेर अनियमितता मच्चाइरहेका भ्रष्ट नेतृत्वहरूलाई सामाजिक बहिष्कार गर्दै घुँडा टेक्न विवश बनाएको छ, यो ऐतिहासिक उपलब्धि हो। युवा पुस्ताले भोगिरहेको राजनीतिक र सामाजिक निराशालाई उज्ज्वल भविष्यको सम्भावनाका रूपमा परिवर्तन गर्न आफ्नो ज्यानको आहुति दिने वीर सपूतप्रति कृतज्ञ व्यक्त गर्नैपर्छ।

अब, जेन–जी अभियन्ताहरूले के गर्ने ? : नेपाली समाजमा नयाँ राजनीतिक चेतना जगाएको यस आन्दोलनलाई केवल असन्तोषमा सीमित नगरी व्यवस्थित नेतृत्व र दिगो संरचना विकासतर्फ लैजान अब जेन–जी अभियन्ताको जिम्मेवारी बढेको छ। त्यसका लागि प्रतिनिधित्वसहितको एकता अपरिहार्य हुन्छ। आन्दोलनमा घटेका घटनाहरूको जिम्मेवारी लिन सक्ने, जश लिने मात्र होइन, अपजशसमेत सहर्ष स्वीकार गर्ने नेतृत्व आवश्यक छ। नेतृत्वले फरक विचारलाई सम्मान गर्दै मूल उद्देश्यप्रति अर्जुन दृष्टि राख्न सक्नुपर्छ। अब सत्ता कब्जा गर्ने होड होइन, नेतृत्वसहित चुनाव र अन्तरिम सरकारको सफलतामा योगदान दिने संस्कृति निर्माण गर्नु जरुरी छ। मन्त्री बन्ने दौडभन्दा बढी, भ्रष्टाचार नियन्त्रण र जवाफदेही प्रणाली निर्माणतर्फ जोड दिनु नै आन्दोलनको वास्तविक उपलब्धि हो।

आन्दोलन एनजीओ–आईएनजीओकरण भएको भन्ने सम्बन्धमा सडकदेखि मिडियामा उठेका प्रश्नलाई सम्बोधन गर्दै सरकारी तथा गैरसरकारी संघसंस्थाको भूमिकाबारे प्रश्न उठाउन सक्ने नेतृत्वको खाँचो छ। युवाले केवल आलोचनामात्र होइन, अर्थतन्त्रलाई चलायमान बनाउने दायित्व लिने साहस देखाउनुपर्छ। निजी क्षेत्रलाई प्रोत्साहन, व्यवसायीको मनोबल उच्च बनाउने वातावरण र कर्मचारी तथा प्रशासनलाई प्रेरित गर्ने संस्कृतिको विकास गर्न सकेमात्र आन्दोलनले नयाँ नेपालको खाका कोर्नेछ। जेन–जीको आन्दोलन नाराबाट जिम्मेवारीमा परिणत भइसकेको अवस्थामा सडकप्रति पारदर्शी, जवाफदेही र सर्वमान्य नेतृत्वको आडमा आन्दोलनले दिएको बलिदानलाई परिवर्तनमा केन्द्रित गर्न जेन–जी अभियन्ताहरू एकीकृत हुनुको विकल्प छैन।

राजनीतिक दलहरूले के गर्ने ? : जेन–जीको आन्दोलनले पुराना राजनीतिक दलहरूलाई पनि आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ। अब दलहरू पुरानै शैलीमा अडिग रहेर नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्दैनन्। त्यसैले, दलभित्र नयाँ नेतृत्वको उदय र दल पुनर्गठन अपरिहार्य भएको छ। अन्तरिम सरकारलाई सम्मानपूर्वक स्वीकार गर्दै दलहरूले संयमित ढंगले आगामी निर्वाचनको तयारीमा ध्यान केन्द्रित गर्नुपर्छ। चुनावलाई अवसरवाद वा सत्ता स्वार्थको खेल नभई लोकतान्त्रिक मूल्य र जवाफदेहिताको अभ्यासका रूपमा लिन सकियो भने मात्रै दलहरूको अस्तित्व बलियो हुनेछ।

दलहरूले आफ्नो पुरानो शैली, संस्कार र कार्यशैलीमा परिवर्तन ल्याउनैपर्छ। दलहरूलाई पुनर्जीवित गर्न र जनतामाझ नयाँ विश्वास दिलाउन नवयुवालाई नेतृत्वसहितको निर्णय प्रक्रियामा वास्तविक सहभागिता र हस्तक्षेपको अधिकार दिनुपर्छ। पुराना दलहरूले अब अन्तरिम सरकारको निःसन्देह सहयोगी भूमिकामा उभिन सक्नुपर्छ। आक्रामक प्रतिस्पर्धाभन्दा बढी सहयोग र सहमतिको राजनीतिमा उत्रिन सकियो भने मात्रै राजनीतिक स्थिरता सम्भव छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, भ्रष्टाचारविरुद्ध अब दलहरूले एकीकृत प्रतिबद्धता जनाउनैपर्छ।

२०४७ सालयताका सबै शंकास्पद निर्णय र कार्यहरूको छानबिन गर्ने तयारी गर्दै, निष्पक्ष र स्वतन्त्र ‘भ्रष्टाचारविरुद्धको आयोग’ गठन गर्न सहमति कायम गर्नु अपरिहार्य छ। यही कदमले मात्र पुराना दलहरूलाई नयाँ पुस्ताले स्वीकार्ने सम्भावना खुला राख्नेछ।

आन्दोलनको ‘सेफ ल्यान्डिङ’ कसरी ? : आन्दोलनको चपेटाबाट मुलुकलाई निकास दिने कुरा केवल तत्कालीन प्रतिक्रियाले मात्र सम्भव हुँदैन। यसको दीर्घकालीन ‘सेफ ल्यान्डिङ’ त्यतिबेला मात्र सम्भव हुन्छ, जब शान्ति, सुरक्षा र सामाजिक उत्तरदायित्वलाई जोड दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ। आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले परिपक्वता, दूरदर्शिता र संयमता प्रदर्शन गर्दै देशलाई नयाँ निर्वाचनतर्फ लैजानुपर्छ। यस प्रक्रियामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालासँग प्रभावकारी समन्वय अपरिहार्य हुन्छ।

विशेषतः अन्तर्राष्ट्रिय समुदायले नेपालको राजनीतिक स्थिरता र लोकतान्त्रिक अभ्यासलाई नजिकबाट नियालिरहेको सन्दर्भमा समन्वयकारी भूमिका अझै महत्त्वपूर्ण बन्छ। अन्ततः आन्दोलनको वास्तविक ‘सेफ ल्यान्डिङ’ भनेको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्दै सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा उभ्याउनु हो। जब भ्रष्टाचारविहीन शासन, पारदर्शी प्रशासन र साझा जिम्मेवारीको अभ्यास हुन्छ, त्यतिबेला मात्रै राजनीतिक स्थिरता कायम रहन्छ। एक यस्तो नेपाल जसमा युवाको आवाज सुन्ने कान छ, असमानता हटाउने संकल्प छ र भविष्यलाई समुन्नत बनाउन एकीकृत इच्छाशक्ति छ।

प्रतिक्रिया