इटहरीमा सुनचाँदी चोरी, प्रहरी अनुसन्धानमा

Jasus Khabar 3925+ समाचार ( )
२१ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । इटहरी उपमहानगरपालिका–२० बुद्धचोकमा एक घरबाट शुक्रबार लाखौँ मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ।


नारायण श्रेष्ठको घरमा ढोकामा चाबी नलगाई ईभिनिङ वाकका लागि बाहिर गएको बेलामा अज्ञात समूहले सुनचाँदी चोरी गरेको पीडित पक्षले जानकारी दिएको छ।


घर फर्किएपछि श्रेष्ठले आफ्नै दिदी लक्ष्मी श्रेष्ठको ४ तोला सुन र ६ तोला चाँदी तथा सोही घरमा डेरा गरी बस्दै आएकी ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ की सरु लिम्बूको २ तोला सुन चोरी भएको देखेपछि प्रहरीमा खबर गरिएको थियो।


उक्त घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी तरहरा सुनसरीबाट प्रहरी नायब निरीक्षक टिका नेपालको कमाण्डमा प्रहरी टोली खटिएको र हाल घटनास्थलको अवलोकन तथा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी चौकी तरहराले जनाएको छ।


चोरीमा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि प्रहरीले अनुसन्धान तिव्र बनाएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको र अन्य तथ्यहरू सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ।

प्रतिक्रिया