अजमल अन्सारी >
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्रहरी चौकी बराहक्षेत्रको आयोजनामा आज आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
प्रहरी चौकी बराहक्षेत्र सुनसरीका प्र.ब.ह. युवराज खत्रीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा तिर्थयात्री तथा प्रहरी कर्मचारीसहित १६ जना सहभागी भएका थिए।
कार्यक्रममा आत्महत्या रोकथामका उपाय, मानसिक स्वास्थ्यको महत्व र समुदाय–प्रहरी साझेदारी मार्फत जनचेतना अभिवृद्धि गर्ने विषयमा जानकारी दिइएको थियो।
प्रहरी खत्रीले यस किसिमका सचेतनामूलक कार्यक्रमले आत्महत्या न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि विभिन्न समुदायमा पुगेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
स्थानिय तिर्थयात्रीहरू र सर्वसाधारणले समेत यस्ता कार्यक्रम आवश्यक र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।>>