सुनसरीमा सुरक्षा सुदृढीकरणका लागि नेपाल–भारत सुरक्षा निकायको संयुक्त छलफल

Jasus Khabar 3925+ समाचार ( )
३० वैशाख २०८२

सुनसरी । नेपाल–भारत सीमावर्ती क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको कोशी गाउँपालिका–८ चारकुनेक्षेत्रस्थित सीमा क्षेत्रमा सुरक्षा निकायहरूबीच संयुक्त छलफल सम्पन्न भएको छ।


भण्टावारीको चारकुनेक्षेत्रस्थित आयोजना गरिएको छलफलमा भारतीय सुरक्षा बल (एसएसबी), नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू सहभागी भएका थिए।


छलफलमा सशस्त्र प्रहरी बल भण्टावारी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक केदार जङ्ग थापा, इलाका प्रहरी कार्यालय भण्टावारीका प्रहरी नायब निरीक्षक पुण्य प्रसाद अधिकारी, बिओपी श्रीपुरका प्रमुख प्रहरी नायब निरीक्षक जयराम मेहता तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


दुवै देशका सुरक्षा निकायहरूबीच सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधि नियन्त्रण, अवैध कारोबार तथा मानव ओसारपसार रोकथाम लगायत विषयमा प्रभावकारी समन्वय गर्ने सहमति भएको छ।


सुरक्षा गस्तीलाई थप कडाइ गर्ने, सूचनाको तत्काल आदान–प्रदान गर्ने र दुवै पक्षबीच विश्वास तथा सहकार्यलाई प्रगाढ बनाउने निर्णय छलफलमा गरिएको छ।


स्थानीय जनप्रतिनिधिहरूले सीमावर्ती बस्तीका नागरिकलाई सचेत पार्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीमा सुरक्षामा स्थानीयको सक्रिय सहभागिता पनि सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्।


सुरक्षा निकायहरूबीचको यस्तो नियमित समन्वयले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी विश्वास कायम राख्न सघाउने सहभागीहरूको विश्वास छ।


प्रतिक्रिया