नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

Jasus Khabar 3959+ समाचार ( )
१ जेठ २०८२

सुनसरी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा सुदृढीकरण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त सुरक्षा गस्ती गरिएको छ।


सशस्त्र प्रहरी बल भण्टावारी गुल्म, इलाका प्रहरी कार्यालय भण्टावारी र भारतको सशस्त्र सीमा बल (एसएसबी) भिमनगरको संयुक्त टोलीले बुधबार भारततर्फको शैलेशपुर, फत्तेपुर र नेपालतर्फको भिमनगर, कोशी व्यारेज आसपासको क्षेत्रमा गस्ती गरेको हो।


सशस्त्र प्रहरी बल भण्टावारी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक केदार जङ्ग थापाले सीमा क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नुका साथै तस्करी र आपराधिक गतिविधि रोकथामका लागि यस्तो संयुक्त गस्ती प्रभावकारी हुने बताउनुभयो। ‘सीमा क्षेत्रमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन नियमित रूपमा संयुक्त गस्ती जारी राखिनेछ,’ गुल्मपति थापाले भन्नुभयो।


यसैगरी इलाका प्रहरी कार्यालय भण्टावारीका प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीले नेपाल–भारत दुवै पक्षको समन्वयमा हुने यस्ता गस्तीले सीमामा सुरक्षालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। ‘सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सहकार्य बलियो बनाइँदैछ र यसले परिणाममुखी काम गर्ने विश्वास लिईएका छाैँ,’ नायब निरीक्षक अधिकारीले भन्नुभयो।


सुरक्षा निकायका अनुसार सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप, तस्करी, अवैध ओसारपसारलगायतका गतिविधि रोक्न यस्ता संयुक्त गस्तीलाई नियमितता दिइने जनाएको छ ।


प्रतिक्रिया