जनकपुरधाम मेयर कपः राष्ट्रिय खेलाडी विवेकद्वारा शतक प्रहार, दिल्लीका सिन्हाले लिए ह्याट्रिक विकेट

Jasus Khabar 3945+ समाचार ( )
१ जेठ २०८२

 जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कपमा बाराको तर्फबाट विवेक यादवले शतक प्रहार गरेका छन्। भारतको दिल्ली टिम विरुद्ध शतक प्रहार गर्दै प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका हुन्। यस्तै दिल्लीका आदित्य सिन्हाले समेत अन्तिम ओभरमा ह्याट्रिक विकेट लिए।

बारा टिमको तर्फबाट चार नम्बरमा ब्याटिङ्ग गर्न आएका राष्ट्रिय टिमका खेलाडी यादवले ५३ बलमा ७ छक्का र ८ चौकाको मद्दतले १०४ रन बनाएर आउट भएका छन्। ५१ औँ बलमा छक्का प्रहार गर्दै यादवले यस प्रतियोगिताको पहिलो शतक प्रहार गरेका हुन्। यसअघि उनले पर्सा विरुद्धको प्रतियोगिताको पहिलो खेलमा ३० बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रन बनाएर आउट भएका थिए।

यस्तै, दिल्लीका आदित्य सिन्हाले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएका छन्। २० औँ ओभर गर्न आएका सिन्हाले अभरको पहिलो बलमा पवन श्राफलाई आउट गर्दा, चौथो बलमा विवेकलाई, पाँचौ बलमा निरज यादवलाई र छैठों बलमा भुलावन सहनीलाई आउट गर्दै प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन्। ३ ओभर बलिङ्ग गरेका सिन्हाले २५ रन दिएर ४ विकेट लिए।

बुधबारको दोस्रो खेलमा टस हारेर ब्याटिङ्ग गरेको बाराले दिल्लीलाई २१८ रनको विशाल लक्ष्य दिएको हो। बाराको तर्फबाट पवन श्राफले १४ बलमा ३१, आदिल अन्सारीले २० बलमा ३३, तृत दासले १२ बलमा १९, साहिल पटेलले ११ बलमा १५ रन बनाए।

प्रतिक्रिया