चार प्रकारका शक्ति एमालेविरुद्ध कुप्रचारमा

Jasus Khabar 3925+ समाचार ( )
१४ श्रावण २०८२

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको गौरव भएकाले अनावश्यक विवादमा आउन नहुने जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले १२औं अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् । अपानीमा भनिएको छ,‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न ।’

भण्डारी सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई एमाले कार्यकर्ता बनाउनु नहुने एमालेको ठम्याइ छ । अपानीमा भनिएको छ, ‘अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।’

‘साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ,’ अपानीमा भनिएको छ । पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकले यसैअनुसारको निर्णय गरेको अपानीमा उल्लेख छ । 

नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक,पालनकर्ता र नेपाली सेनाको परमाधिपति जस्ता गुरुत्तर दायित्व सुम्पिएको उल्लेख गर्दै अपानीमा भनिएको छ,‘यो भूमिका आफैंमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको छ । राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्यसंस्थागत आबद्धताबाट पूर्णरूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ ।’ गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाशप्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको पनि अपानीमा उल्लेख छ । 

सक्रिय राजनीतिमा आउँदा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्ने पनि जनाइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम भएको उल्लेख गर्दै अपानीमा भनिएको छ,‘हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरूलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ ।’

नेपालमा लैंगिक समानता र समावेशिताको ‘आइकन‘का रूपमा भण्डारी रहेको भन्दै एमालेले प्रशंसा गरेको छ । भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया नमिलेकाले सदर नहुने पनि अपानीमा उल्लेख छ । भनिएको छ, उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन, विधानको धारा ८ अनुसार हुन्छ ।’

विधान महाधिवशेनमा को–को प्रतिनिधि हुन्छन् ? 
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था रहेको अपानीमार्फत जानकारी गराइएको छ । अपानी अनुसार १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी र निकायमा मनोनीत भएकाहरू आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था छ । 

‘१०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू जो विधान अधिवेशनका स्वतः प्रतिनिधि हुनेछन्, तिनीहरूमध्ये यस अवधिमा दिवंगत भएका, कारबाहीमा परेका वा पार्टी परित्याग गरेकाहरूको नाम अभिलेखबाट हटाइने छ ।’ अपानीमा उल्लेख छ । केन्द्रीय सचिवालयले १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि प्रदेशमा पठाएको पनि अपानीमा जनाइएको छ । उक्त सूचीमा सम्बन्धित प्रदेश र जिल्लाले हटाउनुपर्ने नाम रहेको भए सोको विवरण कैफियत खोलेर यही महिनाको मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउनु, निर्देशन गरिएको छ । 

जनसंगठन समन्वयको निर्देशिकामा संशोधन
जनसंगठन समन्वयको निर्देशिका संशाधन भएको अपानीमा उल्लेख गरिएको छ । जनसंगठन समन्वय संयन्त्र, संयन्त्रमात्र भएकाले संयोजकबाहेक अन्य पदहरू सिर्जना नगर्ने व्यवस्था गरिएको छ ।
तर, संयोजकले आवश्यकताका आधारमा कुनै सदस्यलाई सचिवका रूपमा काम गर्ने गरी जिम्मेवारी तोक्न भने सक्ने छ । जनसंगठनहरूको केन्द्रीय कमिटीको अधिकतम् संख्या क्रमशः १५१ र ९९ मा सीमित गरिएको छ । ।

जनसंगठनको हालको अधिकतम् १७ पदाधिकारीको संख्या घटाई ९ मा सीमित गर्ने निर्णय पनि अपानीमा उल्लेख छ । जसमा अध्यक्ष र महासचिवका अतिरिक्त महिला उपाध्यक्षसहित २, उपमहासचिव १ र सचिवमा संगठन, प्रचार तथा प्रकाशन, विदेश र कोषको जिम्मेवारी तोकेर ४ मा सीमित गरिएको छ । केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीको बीचमा अन्य कुनै तह राखिने छैन । निर्देशिकामा संशोधन गरिएपछि पार्टीसम्बद्ध १६ वटा जनसंगठनका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।

अनेरास्ववियुलाई विद्यार्थी समुदायमा केन्द्रित गर्ने गरी ३२ वर्षे उमेरहदको व्यवस्था लागू गरिएको पनि अपानीमा छ । पार्टीसम्बद्ध जनसंगठनका माध्यमबाट ‘मिसन ८४’ को सफलताका लागि जनआधार विस्तारमा महत्वपूर्ण सफलता प्राप्त हुने विश्वास गरिएको अपानीमा गरिएको छ ।

सरकारको एक वर्षे कार्यकालको समीक्षा 
अध्यक्षको नेतृत्वमा संयुक्त सरकार गठन भएको एक वर्षको समीक्षा पनि अपानीमा गरिएको छ । सरकारले यस अवधिमा सुशासन र सेवा प्रवाहमा सुधार गर्ने गरी कानुनी र संरचनागत सुधारका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी अपानी छ । शासकीय सुधारको कामलाई तीव्रता दिने गरी प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोग गठन भई काम सुरु भएको अपानीमा उल्लेख छ । संकटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण पहलहरू भएका पनि एमालेले जनाएको छ । एकवर्षको अवधिमा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार देखिएका दाबी गरे । 

अपानीमा भनिएका छ, ‘गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य वृद्धि भएको छ । व्यापार–व्यवसायमा अनुकूल अवस्था सिर्जना भएको छ । गत वर्षको तुलनामा निर्यात व्यापार ८१ प्रतिशतले वृद्धि भएको छ । सोधनान्तर स्थिति उल्लेख्य बचतमा छ ।’ एक वर्षमा झन्डै ४ खर्बले जीडीपीमा वृद्धि भएको अपानीमा उल्लेख छ । विदेशी मुद्राको सञ्चिति १४ महिनाको खर्च धान्ने अवस्थामा अपानीमा भनिएको छ । 

सरकारबाट हटेसँगै अवरुद्ध बन्न पुगेका विकास निर्माणका कामले गति लिन थालेका पनि आपनी दाबी गरिएको छ । अपानीमा भनिएको छ,‘जनतामा बढ्दै गएको निराशा क्रमशः चिरिँदै गएको छ । सरकारको योजनाबद्ध पहलका कारणले निजी क्षेत्र आशावादी बन्न पुगेको छ । पार्टीको नेतृत्वको सरकारबाट उपलब्धिहरूलाई आमजनताका बीचमा स्थापित गरिनुपर्दछ ।

पार्टी र नेतृत्व प्रति सुनियोजित हमला 
पछिल्लो समयमो पार्टी र नेतृत्वका विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको एमालेले बताएको छ । उसले यो बुझेर प्रतिवाद गर्न पनि निर्देशन दिएको छ । ‘यस्तो किन भइरहेको छ ? भन्ने कुरा पार्टी पंक्तिले बुझ्नुपर्दछ र त्यसको सशक्त प्रतिवाद गर्नुपर्दछ ।’

चार प्रकारका शक्ति एमालेविरुद्ध कुप्रचारमा 
यतिबेला एमालेविरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कुप्रचारमा लागेको उसको आरोप छ । उनीहरू गोयवल्स शैलीमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जाललाई एमालेविरुद्ध दुरुपयोग गरिरहेको अपानीमा उल्लेख छ । 

पहिलो : एमालेविरुद्ध कुप्रचार गर्ने पहिलो शक्ति देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति रहेको अपानीमा उल्लेख छ ।

दोस्रो : नेपालमा राजसंस्था पुनर्स्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू ।

तेस्रो, नेकपा (एमाले नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् ।  
चौथो, नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् ।

प्रतिक्रिया