प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । >
अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखी १४ गतेसम्म ३० सदस्यीय टोली अमेरिका भ्रमणमा गएको थियो । >
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किएका थिए । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभामा सहभागी भएको भ्रमण टोलीको खर्च थप बजेट निकासा मार्फत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। ‘नियमित शीर्षकमा बजेट विनियोजन गरिएको थिएन,’अर्थ मन्त्रालयका अधिकारीले भने, ‘नियमित शीर्षकमा बजेट नहुँदा थप बजेट निकासा गर्ने गरिएको छ ।’ >
परराष्ट्र मन्त्रालयले नियमित हुने विदेश भ्रमणका लागी पर्याप्त बजेट नछुटाउँदा थप बजेट निकासा गर्दै भुक्तानी गर्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।>>